३१ बैशाख २०८१, सोमबार २:१६ | 05/13/2024 4:31 AM
पश्चिमा राष्ट्रमा मानिसहरु नयाँ बर्षको आरम्भसंगै बहानाहरुको तानाबाना बुन्छन, न्यु ईयर रिजोलुशनको नाममा..यो गर्दिन त्यो गर्दिन..यो खान्न त्यो खान्न अनि यो पिउंदिन, त्यो पिउंदिन आदि इत्यादी(?) समयक्रम संगै ति सबै बाचा र प्रतिज्ञा बासी हुन्छनl हामी त्यसैलाई आफ्ना जीवन, जगत, जिजिविषा र यषणा ठान्दछौं कतिपय अवस्थाहरुमा हामी संग तर्क, गणित या बिज्ञान केहि हुँदैनl
आफुसंग खासै कुनै खराब आदत या लत नभएकोले माथि भनिएका नाटक या स्वांग गरिरहनु परेन तर अनुभबको आधारमा आफैलाई निफन्ने हो भने केहि आदत या बानीलाई सुधार्ने प्रयाससम्म चाँही गर्नु पर्ने हुन् सक्छl पछिलो कालखण्डमा आफु बढी यान्त्रिक हुँदै गएको र मानवीय सम्बन्ध र सम्बेदनामा ह्रास आएको हो कि भन्ने महसुस चाँही हुन थालेको छl
“खोई बुढाको स्वर पनि सुन्न पाईंदैन” भन्ने श्रीमतिको प्रेमिल प्रहार, “खोइ तेरो फोननै उठ्दैन बाबु” भन्ने आमाको दुखेसो अनि “साथी तँ त साह्रै बिजी भईस” भित्रको कटु सत्य अनि परिवारजन र साथीसंगीहरुको जायज गुनासाहरुमा सपाट यथार्थ र सत्य उद्घाटित भएको छ भन्ने मैले यो क्षण महसुस गरेको छु l
टेलिभिजन कार्यक्रम सम्प्रेषणको निर्माण, संचालन, निजि ब्लग लेखन अनि मौसमी संचारकर्मीको तानाबानाले मान्छेसंग भन्दा बिस्तारै यन्त्रसंग नजिकको सम्बन्ध स्थापित गराउन थालेछl अब त फोनमा दोहोरो कुरा गर्ने बानी पनि पो छुट्न थालेछl न्युयोर्क शहरको कोलाहलमा फोन आउँछ दोहोरो वार्ता गर्न साह्रै गाह्रो घर पुगेर कलब्याक गर्छु भन्यो कता हो कता? अब त बानी लाग्यो ट्याक्क भन्नु पर्ने जति इमेल, टेक्स्ट या फेसबुकमा इनबक्स गरिदियो त्यो पनि “टिन” हरुको “लल” भाका र भाषामा (?)
अब नयाँ बर्ष २०१५ को प्रारम्भ देखि “यान्त्रिक भास” बाट उन्मुक्ति पाउन कमसेकम एक दिन आँखालाई यन्त्रबाट पूर्ण उन्मुक्ति दिने र “आर्थिक भास” र चर्को ब्याजदरबाट रोकथाम गर्न र बच्न अनावश्यक ऋण सुचाङ्क न्यूनीकरण गर्न महंगा ब्याज दरका अनावश्यक क्रेडिट कार्डहरुलाई निष्कृय राख्ने या म्याद सकिएका कार्डहरुलाई “धुजाधुजा” पार्ने कार्यारम्भ गरेको छुl
धन्दावाल बैंकहरुले निरन्तर पठाई रहन्छन तिनलाई रद्द पनि नगर्ने अनि एक्टिभेट पनि नगर्नेl हामीलाई राम्रो खाले सिर्फ दुईटा क्रेडिट कार्ड भए पुग्छl यसलाई आधिकारिक सुझाब या सल्लाह भनेर नलिनु होला म सिर्फ आफ्नो “पराई” लेख्दैछु “पढाई” होइनl
सन् २०१५ को मेरो न्यु ईयर रिजोलुशन: हप्ताको एक दिन “यन्त्र मुक्त” अनि अमेरिकी बसाई सकभर “ऋणमुक्त”!! नयाँ बर्षको आगमनमा सबैलाई शुभकामना!
प्रतिक्रिया